यही द्वन्द्वको शिथिलीकरणमा भन्दा वृहतीकरण गरी माथिको पहिलो मान्यतामा आधारित राष्ट्रवाद नै मूलप्रवाह हो भन्ने सोचबाट वर्तमान वातावरण निर्माण भइरहेथ्यो, जुन धरातलका नायक बनिरहेथे केपी ओली ।
भीमसेन थापालाई महानायक मान्ने र राजा महेन्द्रलाई मात्रै सच्चा राष्ट्रवादी ठान्नेहरुको भावना केपी ओलीजीले साँच्चि नै जिते ।
ओलीजीले अनधिकृतरुपमा उठाएका विकासका केही सपनाहरुको ठूलै प्रशंशक हो यो लेखक । उनले उठाएका ती सपना किन अनधिकृत हुन् भने ती उनीसमेतले निर्माण गरेका राष्ट्रको नीति तथा कार्यक्रमसँग सम्वन्धित कुनै दस्तावेजमा छैनन् ।
तर, उनले अहिलेसम्म देखाएको राष्ट्रवादको अडानको रुप र त्यसैको पृष्ठभूमिमा अंगीकार गरिएको चोथाले र उत्तेजक परराष्ट्र नीतिको भने म कटू आलोचक रही आएको छु ।
यति हुँदाहुँदै पनि उनले गरेको अन्तिम निर्णय अर्थात राजीनामा र अर्को सरकारका लागि मार्गप्रशस्त गरिदिने कामचाँहि सबै भन्दा बढी राष्ट्रवादी भयो भन्ने विश्लेषण छ मेरो । उनको शासनमा मधेस वहिष्करणमा पर्यो र राष्ट्रिय राजनीतिको मूल प्रवाहवाट एक थरी जनता र राजनीतिक शक्ति अलग बस्न बाध्य भए । विस्तारै उत्ताउलिएको एकांगी राष्ट्रवादबीच राष्ट्र विखण्डनको सम्भावना बढ्दै गएको थियो । यदि यो द्वन्द्व अझ बढेको भए नेपालको विभाजनको सम्भावना निकै प्रवल भइसकेको थियो । अहिले पनि सायद अन्तरिम विश्राम मात्रै हुन सक्छ ।
भीमसेन थापाको ढिपीले खण्डित भनेको नेपाल अर्काे ढिपीले फेरि टुक्रिन सक्थ्यो । तर, यो स्थितिलाई केपी ओलीले राम्ररी भाप्ने काम गरे । संविधानको अर्कमण्यतालाई औजार बनाएर उनले सत्ता ओगटिरहन सक्ने थिए । व्यवस्थापिका संसद पनि विघटन गर्न सक्थे । यही संविधान ‘वाइमर’ संविधानको नेपाली संस्करण हुन सक्थ्यो । उनले यी सबै कार्यतर्फ लाग्ने कोशिस् गरेनन् । सबैले सोचेको भन्दा सहज र कम कटुतामा राजीनामा दिए ।
परिणामस्वरुप मधेसका राजनीतिक शक्तिहरु राष्ट्रिय राजनीतिको मूल प्रवाहमा समावेश भई वैधानिक बाटोमा आएका छन् । यसले राष्ट्रियता दह्रो भएको छ ।
एकातर्फ भीमसेन थापापन्थी र महेन्द्रवादीको नेता केपी ओली हुन पुगे भने अर्कातर्फ बाहिरिएकाहरु मूल प्रवाहमा आउन शुरु गरे । दुबै पक्ष एकअर्काका प्रतिपक्ष भएर प्रजातान्त्रिक सहकार्यमा रहने वातावरण बनेको छ अहिले ।
यो लेखक केपी ओलीको राष्ट्रिय अखण्डता अक्षुण राख्ने यो कदमलाई सर्वाधिक राष्ट्रवादी ठान्दछ, पूर्ववत् ‘पोस्चरिङ’मा रहेर एउटा भूखण्डमा पृथकतावादी सोच मौलाउने हदसम्मको उत्तेजनात्मक अडानलाई हैन ।
२०७३ साउन २१ गते १७:३२ मा प्रकाशित अन्लाइन् खबर् डट कम बात साभारित्
No comments:
Post a Comment